MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायिका रेखा शाहको ‘सिमसिमे पानीमा’ गाएको २५ वर्ष पुरा

Published Date: 2018-03-12 00:00:00



२०४९ सालमा रेडियो नेपाल बाट आयोजना गरेको देशव्यापि लोकगीत गायन प्रतियोगीतामा गायिका रेखा शाहको ‘सिमसिमे पानीमा’ बोलको गीतले प्रथम स्थान प्राप्त गरेको र सो गीत गाएको २५ वर्ष पुगेको अवसरमा एकल गायनसँगै सिल्भर जुब्ली वर्ष मनाएकी छिन् |सिमसिमे पानीमा गीत लेखन, संगीत र स्वर आफ्नै रहेर सांगीतिक क्षेत्रमा सुरुवात गरेकी थिइन |याक एण्ड यति होटलमा रेखा शाह फाउन्डेसनद्वारा आयोजित समारोहलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री माननीय थममाया थापाले उद्घाटन गरेकी थिइन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारी आयोजना गरिएको सो समारोहमा मन्त्री थापाले आयोजक संस्था रेखा शाह फाउन्डेसनको तर्फबाट समाजसेवामा सक्रिय शक्ति समूह नेपालकी संस्थापक सदस्य चरिमाया तामाङ र बरिष्ठ गायिका तारा थापालाई ताम्रपत्रसहित जनही रु. ११,१११÷– ले सम्मान समेत गरिन् ।राजधानीका सामुदायिक र निजी विद्यालयमा अध्ययनरत विपन्न वर्गका करीब १ दर्जन बालबालिकाको माध्यमिक तहसम्मको शिक्षामा आर्थिक सहयोग गर्दै आफ्नो जन्मको सार्थकता झल्काउन आफ्नै नाममा रेखा शाह फाउन्डेसन नामक सामाजिक संस्था स्थापना गरी समाजसेवामा सक्रिय रहेको गायिका शाहले सो समारोहमा बताइन् ।

एकल गायन कार्यक्रममा सिमसिमे पानीमाका अलवा एक दिन तिमी फर्कि आउनेछौ, तिमीलाई केही, सइँको घर काँ हो काँ लगायतका आफ्ना गीत र नारायणगोपाल, तारादेवी, अरुणा लामा, डेजी बराइली, प्रेमध्वज प्रधान, उषा मंगेशकर, ज्ञानु राणाजस्ता अग्रज कलाकारका गीतहरु प्रस्तुत गरेकी थिइन् ।
गोपाल योञ्जनको शब्द, संगीत र नारायणगोपालको स्वरमा रहेको तिम्रोजस्तो मुटु मेरो पनि रेखाले गाउँदा उपस्थित दर्शकले उनको गायकीको खुलेर तारिफ गरेका थिए । सुरज कुमार थापासँग युगल गायनमा उनले रातो र चन्द्र सूर्य, मान्छेको माया यहाँ, हेर न हेर कान्छा र नमान लाज यस्तरी गाइन् ।

देशव्यापी लोकगायन प्रथम स्थान–रेडियो नेपाल, युवा छिन्नलता गीत पुरस्कार, म्युजिक अनर्स–रेडियो कान्तिपुर, ईमेज, कालिका, अन्नपूर्ण एफ एमलगायतका अवार्ड र सम्मान प्राप्त गरेकी शाह अभिनयमा पनि सक्रिय छिन् । आफ्ना गीतहरुमा उनी आफैले अभिनय गर्दै आइरहेकी छिन् ।
शास्त्रीय संगीतमा सिनियर डिप्लोमा अध्ययन गरिरहेकी उनले द लाइन, आकृति, स्मृतिजस्ता एल्वमहरु प्रकाशन गरेकी छिन् । ‘तिमीलाई केही हुँदै नहोस्’, ‘एक दिन तिमी फर्कि आउनेछौ’, ‘नजिक छौ तिमी’, ‘तिमी बिना म एक्लै’, ‘पोखूँ भने’ लगायतका उनका गीत चर्चित छन् ।

वरिष्ठ गीतकार किरण खरेलको समुपस्थितिमा उनकै गीत नमान लाज यस्तरी गाउँदा खरेल भावुक देखिएका थिए । गीत रेकर्ड भएको ५५ वर्षपछि सुन्दा झनै कर्ण प्रिय लागेको उनले बताए । कार्यक्रममा संगीतकार न्ह्यू बज्राचार्य, कवि गीतकार विप्लव प्रतीक र नायिका करिष्मा मानन्धरले गायिका शाहलाई शुभकामना मन्तव्यसहित गायकी जीवनको रजत वर्षको शुभकामना दिएका थिए । सिमसिमे पानीमा जस्तो अन्तर्राष्ट्रिय जगत्ले गुनगुनाउने गीत यो राष्ट्रलाई दिएकी गायिका सबै गीतमा स्वर भर्न सक्ने भर्सटाइल हुनु अझै गौरवको कुरा भएको उनीहरुको भनाइ थियो ।

द लिजेन्ड व्याण्डले वाद्यवादनमा साथ दिएको सो कार्यक्रममा रातो र चन्द्र सूर्यबाट गायकीको सुरुवात गरेकी उनले दुई लोकगीत सइँको घर काँ हो काँ र सिमसिमे पानीमा गाएर कार्यक्रमको विट मारेकी थिइन् । आफ्नो गायकीको २५ वर्ष पुगेको सन्दर्भसँगै आफू जेन्डर स्टडीजकी स्नातकोत्तर विद्यार्थी भएकाले लैंगीक समता र समानताका लागि नारी दिवसको दिन कार्यक्रमको आयोजना गरेको उनले बताइन् ।

loading...