Logo
Logo

माघ २२ गते मंगलबारदेखि फागुन २ गतेसम्म ‘मुनामदन’

विराटनगरस्थित आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनामदन’मा आधारित नाटक मञ्चन हुने भएको छ ।
माघ २२ गते मंगलबारदेखि फागुन २ गतेसम्म हरेक दिन दुई शो मञ्चन गरिनेछ । मुनामदनको नाट्य रुपान्तरण भने युवा साहित्यकार कट्वाल दीपकले गरेका छन् । विराट आदर्श साहित्य मञ्चनको आयोजनामा हुने नाटकको बुकिङ धमाधम भइरहेको आयोजकको भनाइ छ ।

कलेज र विद्यालयहरुले अग्रिम शो बुकिङ गरिरहेको मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी गराए । नाटकका सबै कलाकार विद्यार्थी हुन् । युवापुस्तालाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै सकारात्मक सोच र असल नागरिक बन्न प्रेरित गर्दै आएको छ, मञ्चले । मञ्चनमा मोरङका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी आबद्ध छन् ।

नाटकमा तिनै विद्यार्थीले अभिनय गर्नेछन् । नाटकको निर्देशन सविन कट्टेलले गरेका छन् । यो नाटक गत वर्ष पनि गुरुकुलमा एक हप्ताभन्दा बढी मञ्चन भएको थियो । त्यसपछि काठमाडौंको शिल्पी थिएटर र मोरङको विराटचोकमा पनि एक–एक हप्ता मञ्चन गरिएको थियो ।

‘नाटक हेर्न आउने दर्शकले रुमाल बोकेर आउनुपर्छ,’ मञ्चका अध्यक्षसमेत रहेका कट्वाल दीपकले भने, ‘उति बेला युवाहरु रोजगारीको खोजीमा ल्हासा जान्थे अहिले अहिले खाडी जान्छन्, पीडा उही छन् नेपालीको ।’

देवकोटाको सबैभन्दा चर्चित र लोकप्रिय कृति हो मुनामदन । ‘आफ्ना सबै कृति जलाइदिए पनि मुनामदन चाहिं नजलाइदिनू’ भनेर देवकोटाले प्राण त्यागेका थिए । ‘यो नाटकले दर्शकको मन मात्रै जित्दैन मनसमेत पगाल्छ,’ युवासाहित्यकार समेत रहेका प्रमुख सल्लाहकार नवोदित भन्छन्, ‘नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई पनि नाटकले बलियोसँग उजागर गरेको छ ।’

 

Please leave a comments